रवि लामिछानेको दोहोरो राहदानीमा छानबिन गर्नुपर्दैन : विश्वप्रकाश शर्मा

  Sampatti News Online

May 24, 2024

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायधिवक्ताको कार्यालय रास्वपाको भातृ संगठन जस्तो बनेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछाने र संसद्का महासचिव पाण्डेयको दोहोरो नागरिकता र राहदानीको विषय उठ्दा पनि अनुसन्धान तथा गिरफ्तारी नभएको बताएका हुन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले महान्यायाधिवक्ता कार्यालय गृहमन्त्रालयको शाखा जस्तो बनेको टिप्पणी गरेका हुन् ।

‘प्रतिशोध स्वरूप कैलाश सिरोहिया रातारात भाग्ने जस्तो गरेर गिरफ्तार गरियो । गिरफ्तार गर्ने निकायमा को हुनुहुन्छ ? दुई वटा पासपोर्टको कारण छानबिन हुनुपर्ने भनेर आरोपित व्यक्ति गृहमन्त्री हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयले के भनेको छ भन्दा दोहोरो राहदानीमा छानबिन गर्नु नपर्ने । महान्यायाधिवक्ता कार्यालय रास्वपा पार्टीको भ्रातृ संस्था हो ? गृह मन्त्रालयको शाखा हो ?’, शर्माले प्रश्न गरे, ‘कहिले पासपोर्ट प्रकरणमा छानबिन गर्नु पर्दैन भनेको छ । कहिले सहकारी ठगीमा हुनुहुन्न भनेको छ । त्यो (महान्यायाधिवक्ता कार्यालय) संवैधानिक इजलास हो ? विचाराधीन विषयमा अलग्गै लेखेर दिन मिल्छ ?’

महामन्त्री शर्माले सहकारी ठगीबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिमा रविको नाम किटान गर्नुपर्ने बताए ।सहकारी ठगीको विषयमा लामो कुरा केही छैन, जसरी अस्पतालमा आएका सबै विरामीको अप्रेसन गरिँदैन । एपेन्डिक्सको अप्रेसन गर्ने भन्दैमा हस्पिटलमा आएका सबैको त गरिँदैन, जो बिरामी हो त्यसैको गर्ने होला’, शर्माले भने, ‘कागजमा कसैको नाम लेखेपछि समिति बन्नु र नबन्नुको अर्थ हुँदैन ।’

सहकारी ठगीमा रविले एकढंगको स्वीकार्यता गरिसकेकाले कांग्रेस नेताहरूको फाइल खोल्ने बार्गेनिङ गरेको महामन्त्री शर्माले बताए । कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि दाई भाउजूमाथि छानबिन गर्ने हो गर्नुस् । नाम थर, गोत्र लेख्नुस् । माइती ससुरालीको कुरा लेख्नुस् ।

प्रकाशित मिति:May 24, 2024