तराईमा तीन दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव

  Sampatti News Online

May 29, 2024

काठमाडौं । आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी केही दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले यसबाट जोगिन आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ । तराईका भू–भागहरूमा आगामी ३ दिन जेठ १८ गतेसम्म तातो हावाको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सचेत हुन भनेको छ ।

आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति:May 29, 2024