आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

Nepal Cover
१६ जेष्ठ २०८१, बुधबार
image

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ७१औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आरोहीहरूको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातिको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण सावित हुने जिकिर गरे ।

आरोहीहरूको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातीको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण सावित हुने उनको जिकिर थियो। आरोहण क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाका लागि पहल गर्ने र आरोहण क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने बताए।

जलवायु परिवर्तनका असरलाई न्यूनिकरण र हिमालमा फोहोरमैलाको व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दे हिमालमा प्रदुषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको उल्लेख गरे। म तपाईँहरूलाई के विश्वास दिलाउँछु भने अर्थ मन्त्रालयसँग कुरा गरेर आरोही कल्याणकारी कोष बनाउने पहल हुनेछ। यस क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाको बारेमा ध्यानाकर्षण भएको छ । त्यसमा पनि मैले पहल लिनेछु । यस क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल गर्नेछु।’

प्रधानमन्त्री दाहालले पर्वतीय देशको नेताको रुपमा नेपाल स्थापित भइसकेको बताए। उनले हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ राम्रोसँग आकर्षित भएको उल्लेख गरे। जलवायु परिवर्तनको असरको चपेटामा सर्वोच्च शिखर सहितका अन्य हिमश्रृंखलाहरू परेको भन्दै हिमालको संरक्षणमा सबै जुट्न आवश्यक रहेको उनको भनाइ थियो। सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको उनले जानकारी दिए।