भ्रष्टाचार मुद्दामा ललितपुरको मालपोत तथा पानी कार्यालयका प्रमुखले पाए सफाइ

Nepal Cover
२३ जेष्ठ २०८१, बुधबार
image

काठमाडौं । ललितपुरको मालपोत तथा पानी कार्यालयका प्रमुखले सफाइ पाएका छन् । नियम मिचेर जग्गाको कित्ताकाट गरेको भ्रष्टाचार मुद्दामा बिशेष अदालतले मंगलबार सफाइ दिएको हो ।
मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल तथा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्वेक्षक लोकेन्द्रसिंह धामीले सफाइ पाएका हुन् ।
साविक टिकाथली गा.वि.स. वडा नं. ६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको भन्दै उनीहरुविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । भू–उपयोग नियमावली, २०७९ मा उल्लिखित कित्ताकाटको लागि तोकिएको न्यूनतम मापदण्ड भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानुनी व्यवस्था विपरीत उक्त नियमावलीले तोकेको क्षेत्रफलभन्दा कम क्षेत्रफलका कित्ताहरु कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढ कायम गरी टायल चेक गरी बढाएको क्षेत्रफल र नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नं. २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी प्लटरजिष्टर र स्रेस्तामा जनाइएको छ । उक्त जग्गासमेत व्यक्ति विशेषको नाममा कायम भएको कित्ताहरुमा समावेश गरी नक्सामा भन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरी कित्ताकाट गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुर उनीहरुमाथि थियो ।
अख्तियारले राउसाई होल्डिङ्गस् प्रा.लि., ललितपुर महानगरपालिका वडा नं. २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोज बहादुर श्रेष्ठलाई पनि प्रतिवादी बनाएकोमा उनीहरुले पनि सफाइ पाएका छन् ।