जेनेभा पुगे राष्ट्रपति पौडेल, यस्ता छन् कार्यक्रम

  Sampatti News Online

June 12, 2024

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

मंगलबार काठमाडौंबाट प्रतिनिधिमण्डलसहित कतारको दोहा प्रस्थान गरेका राष्ट्रपति बुधबार बिहानमात्रै त्यहाँबाट जेनेभा प्रस्थान गरेका थिए। दोहाबाट बिहान कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका थिए। जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको सचिवालयले जनाएको छ। 

जेनेभामा आज राष्ट्रपति पौडेलले स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार(भोलि) सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्। 

यस्तै,भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि असार १ गते जेनेभाबाट बर्लिन प्रस्थान गर्ने राष्ट्रपति पौडेलको कार्यक्रम छ। जर्मनीका राष्ट्रपति फ्रैङ्क वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन्। 

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो-साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । असार २ गते गैरआवासीय नेपाली सङ्घ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:June 12, 2024