देशभर गर्मी बढ्यो : जनजीवन कष्टकर, सावधानी अपनाउन विज्ञको सुझाव

Nepal Cover
३० जेष्ठ २०८१, बुधबार
image

काठमाडौं । धनगढी, भैरहवा, नेपालगन्ज, सिमरालगायत स्थानको तापक्रम एक सातायता ४० डिग्री सेल्सियस नाघ्न थालेको छ । विशेषगरी, पछिल्ला दिनमा बढेको आगलागी, प्रदूषण तथा खडेरीका कारण गर्मी बढिरहेको छ ।

गर्मी धेरै बढेकाले जल तथा मौसम विज्ञान विभाग अन्तगर्तकाे मौसम पूर्वानुमान महाशाखाले मंगलबार चेतावन समेत दिइसकेकाे छ । मंगलबारदेखि बिहीबारसम्म तातो हावा तथा लू चल्ने सम्भावना रहेको महाशाखाले पुर्वानुमान गरिसकेकाे  छ ।

गर्मीकाे चपेटामा परेका नेपालीहरू अहिले वर्षाकाे प्रतिक्षामा रहेका छन् । यद्धपी साेमबारदेखि नेपालमा मनसुन प्रणाली भित्रिसकेकाे छ । नेपालको कोशी प्रदेशको पूर्वी भू-भागमा आगमन भएको हाे । तर काठमाडौँ उपत्यकामा मनसुन भित्रन भने केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना रहेकाे छ । काठमाडाैंको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएकाे छ । आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केहि स्थानमा वर्षा हुने सम्भावना रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएकाे हाे।

यसैगरी, सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

शुक्रबारसम्म नै कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले पुर्वानुमान गरेकाे छ। आगामी तीनदिनसम्म कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका -थोरै स्थानहरूमा तथा बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ।