नेपाल सँग शान्ति निर्माणका नवप्रर्वधानात्मक अनुभवहरु छनः गृहसचिव अर्याल

  Sampatti News 2024

June 28, 2024

– अमेरिका पुगेर देशको सुरक्षा नीति प्रष्ट राख्ने गृहसचिब अर्याल
–जटिल समस्यालाई समाधान गर्न समेत नेपाल सक्षम
–बदलिँदो चुनौतीपूर्ण वातावरणमा वहुआयामिक सुरक्षा व्यवस्थापनमा आवश्यक सुधार गर्न नयाँ र डिजिटल टेक्नोलोजीहरू प्रयोग गर्नुपर्ने आवश्यकता

काठमाडौं । नेपाल सँग शान्ति निर्माणका नवप्रर्वधानात्मक अनुभवहरु रहेको गृहसचिव एकनारायण अर्यालले बताएका छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालमा सम्पन्न भएको चौथो युनाइटेड नेशन चिफ अफ पुलिस समिट कार्यक्रम बोल्दै उनले नेपाललले विगतका ठुला द्धन्द्धलाई कुशलताका साथ समाधान गरेकाले नेपाल सँग शान्ति कायम गर्ने , शान्ति निर्माणका नवप्रर्वधानात्मक अनुभवहरु रहेको स्पष्ट पार्दै विभिन्न जटिल समस्यालाई समाधान गर्न समेत नेपाल सक्षम रहेको स्पष्ट पारे ।

उनले सबै मिलेर विश्वमा गरिबी, अल्पविकास, असमानता, स्रोतको अभाव र जलवायु परिवर्तनका असरलगायत द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नैपर्ने आवश्यकता रहेकोसमेत औँल्याएका छन् ।

असार १२ र १३ गते गरी दुई दिनसम्म चलेको सो समिटमा गृह सचिव अर्यालले सबै मिलेर द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नैपर्छ भन्ने विषयमा जोड दिएका थिए । अर्यालले बदलिँदो चुनौतीपूर्ण वातावरणमा वहुआयामिक सुरक्षा व्यवस्थापनमा आवश्यक सुधार गर्न नयाँ र डिजिटल टेक्नोलोजीहरू प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

अर्यालले कार्यक्रमलाइै सम्बोधन गर्दे भने–‘संगठित अपराध, फरेन्सिक, अपराध विश्लेषण, समुदायउन्मुख प्रहरी, यौनिक तथा लैङ्गिक हिंसाजस्ता समस्याको निराकरणका क्षेत्रमा आवश्यक विशेषज्ञता हासिल गर्न विशेष तालिम महत्त्वपूर्ण छ । अनि दिगो विकास र जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन हासिल गर्नु हाम्रो रणनीतिको मूल आधार हुनुपर्छ ।’

नेपालले यूयन पुलिसको पुर्ण समर्थनमा रहेको स्पष्ट पार्दै युएन पुलिसको सदस्यका रुपमा नेपाल लामो समय देखि रहेकाले नेपालले विश्व शान्ति र सुरक्षा कायम गर्न आवश्यक योगदान गरिरहेको बताए । गृहसचिव अर्यालले नेपालले आगामी दिनमा निरन्तर रुपमा यूएनको शान्ति कायमको लागि तथा द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा र कानुनी शासन स्थापनाका लागि दक्ष र व्यावसायिक प्रहरीहरु उपलब्ध गराइरहने प्रतिबद्धता जनाए ।

अर्याललको नेतृत्वमा रहेको नेपाली टिममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँबर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:June 28, 2024