धामीझाँक्री हेर्न आएका युवाहरुबीच झडप, एक जनाको मृत्यु

  Sampatti News 2024

July 5, 2024

फिदिम । पाँचथरको फिदिम नगरपालिका १४ मा युवाहरुको समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । बिहीबार राति ९ः३० बजे धामी झाँक्री हेर्न आएका १४ वडाका ३७ वर्षीय दिनेशकुमार राईको सामूहिक कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीय धनकुमार राईको घरमा बिहीबार राति धामी झाँकी नचाउने कार्यक्रम हेर्न आएका युवाहरुबीच कुटाकुट हुँदा घाइते भएका ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

बिहीबार साँझ राति धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका दिनेशसहित २८ वर्षीय पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विश्वकर्मा समेतलाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि तत्काल पाँचथर जिल्ला अस्पतालमा ल्याइएको थियो । तर, उनलाई शुक्रबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्य ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको छ । उनीहरुबीच झगडाको कारण खुल्न सकेको छैन भने कुटपिटमा संलग्न युवाहरू फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:July 5, 2024