अविरल वर्षाः बाढीपहिरोले सात जनाको ज्यान गयो, सात जना बेपत्ता

  Sampatti News 2024

July 7, 2024

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोमा परी शनिबार कम्तीमा सातजनाको मृत्यु भएको छ। बाढीपहिरोमा परी काभ्रेमा दुई, स्याङ्जामा तीन, काठमाडौँमा एक र दाङमा एकजनाको मृत्यु भएको हो। बाढीपहिरोमा परी कम्तीमा सातजना बेपत्ता भएका छन्।

बाढीले बागमती, गण्डकी, लुम्बिनी प्रदेशका दर्जनौँ बस्ती डुबानमा परेका छन्। डुबानमा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिए।

वर्षाका कारण आएको पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ। पहिरोले सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्री अलपत्र परेका छन्।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ। शनिबार साँझ रोशी(११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उनकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

यसैगरी स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ। पहिराले पुरिएर बिरुवा गाउँपालिका(६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए। उनीहरूको घर नजिक बिहान पहिरो खसेको थियो।

काठमाडौँको नागार्जुन नगरपालिका(३ मा खसेको पहिरामा पुरिएर एकजनाको मृत्यु भएको छ। ट्रपिकल रेस्टुरेन्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका(६ घर भई हाल सोही रेस्टुरेन्टमा काम गर्ने मनोज विकको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

दाङको गढवा गाउँपालिका(५ मा गङ्दी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बताएका छन्। खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको छ।

दाङमा पहिरोमा परेर एकजना बेपत्ता भएका छन्। दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका(२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए।

पर्वतको फलेवास नगरपालिका(१ कार्कीनेटामा पहिराले घरसहित दुईजना पुरिएका छन्। स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उनका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका(३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका हुन्। वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका(७ काउरेमा पहिरामा परेर शनिबार तीनजना बेपत्ता भएका छन्। पहिरामा परेर बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

दोलखाको गौरीशंकर गाउँपालिका(९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्। रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर(९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए।

प्रकाशित मिति:July 7, 2024