July 7, 2024
काठमाडौं । उरुग्वेसँग पेनाल्टी सुटआउटमा असफल भएसँगै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। आइतबार बिहान भएको खेलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उरुग्वे सेमिफाइनलमा पुगेको हो।
ब्राजिलका लागि पहिले पेनाल्टी प्रहार गर्न आएका एडेर मिलिटाओको प्रहार विफल भयो। तेस्रो नम्बरमा आएका लुइसको प्रहार पनि विफल हुँदा ब्राजिल ‘अन्तिम ८’ बाटै घर फर्किएको हो। उरुग्वेका जोसे मारियाबाहेक अन्य सबैले गोल गर्न सफल भए। निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
निर्धारित समयको ७४ औँ मिनेटमा उरुग्वे १० खेलाडीमा सीमित हुन पुग्यो। नहितान नान्देजले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि उरुग्वे १० खेलाडीमा समेटियो। यो पटक राम्रो खेल पस्कन नसकेको ब्राजिल अन्तिम चारमा पुग्न असफल रह्यो। उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलोम्बियासँग खेल्नेछ। आजै भएको अर्को क्वार्टरफाइनलमा पानामालाई ५–० को फराकिलो अन्तरले हराउँदै कोलोम्बिया सेमिफाइनलमा पुगेको छ।
योसँगै कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ।
पहिलो सेमीफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्नेछन्।
प्रकाशित मिति:July 7, 2024
November 28, 2024