संसद हो की कन्सर्ट ? गीतको टुक्कामै छेडखानी, ‘छल गर्यो मायाले….’

  Sampatti News 2024

July 9, 2024

लेखनाथ सिकारु

काठमाडौं । कांग्रेस–एमालेबीच नयाँ समिकरणको तयारीसँगै संसदमा दोहोरी चल्न थालेका छ । प्रतिनिधिसभाको आइतबार र सोमबारको बैठकमा सांसदहरुले एक अर्कामा चर्को छेडखानी गरेका छन् ।

नेकपा(एमाले)का मन्त्रीहरुले प्रधानमन्त्री निवास वालुटारमा गएर राजीनामा दिए । त्यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरुलाई सुनाएका थिए ।

‘यस्तो पनि हुँदो रैज जिन्दगीमा…., कसैलाई माया गर्नु ठूलो भुल गरे ….’

सोही प्रसङ्ग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफी गीत सुनाए ।

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको गीत सुनाउन भ्याएका थिए ।

‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र
तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र…’

यसरी प्रतिनिधिसभाको आइतबार र सोमबारको भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरे । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत गाए ।
उनले…. छल गर्यो मायाले छल गर्यो मायाले…
सबैको देख्छु हासो र खुसी शिखरको बाटोमा आफूत…

बोलको गीत गाएका थिए । बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका थिए ।
विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको
‘कति जल्छौँ आरिसले अझै जल्दै गर,
मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर…’ सुनाए ।

उनले राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको हो ।

प्रधानमन्त्री दाहालले सुरू गरेको गिती रोदनलाई अन्य दलका सांसदले उनीविरुद्ध प्रयोग गरिदिए ।

सांसद सुनिल शर्माले रामकृष्ण ढकालको गीत सुनाए,
“ओराली लागेको हरिणको चाल भयो,
बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो ।
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाएको,
माया त रहेछ धारिलो छुरा रेटिनै प‍र्यो यो नि …”

गीतकार आनन्द अधिकारी, संगीतकार न्हु बज्राचार्य र गायक रामकृष्ण ढकालको गीत हो । बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले
अल्पमतको सरकारप्रति गीतैबाट व्यंग्य गरे,

‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले ।’’
अनि भने,
“बरू उडायो सबै सपनाहरू हुरिले भन्ने गीत गाएर हुने नि ।”

असार १८ को मध्यरातमा संसदीय राजनीतिका दुई पुराना दल कांग्रेस र एमाले सबै राजनीतिक तिक्तता भुलेर सत्ता सहकार्य गर्न सहमत भए ।
कांग्रेस र एमालेले सरकार गठन गर्ने सहमति गरेपछि दाहाल नेतृतवको सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि एमालेले नैतिकता देखाएर प्रधानमन्त्री दाहाललाई राजीनामा दिन अनुरोध गरिरहेको छ ।

तर, दाहालले २८ असारमा विश्वासको मत लिने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति:July 9, 2024