चौथो पटक प्रधानमन्त्री बने एमाले अध्यक्ष केपी ओली

  Sampatti News 2024

July 14, 2024

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले आज ५ बजे सम्मका लागि नयाँप्रधानमन्त्रीका लागि दाबी पेश आह्वान गरेका थिए । अध्यक्ष ओलीले १६६ जना सांसदहरुको समर्थनमा शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रधानमन्त्रीको शपथ ग्रहणको कार्यक्रम भोली ११ बजे हुने छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको नियुक्ति अघि नै सांसदहरूलाई प्रधानमन्त्रीको शपथमा सहभागी हुन निम्तोसमेत दिइसकेको छ ।

ओली चौथो पटक प्रधानमन्त्री

ओली पहिलोपटक २०७२ साल असोज २५ गते प्रधानमन्त्री बनेका थिए। उनले २०७३ साल साउन १९ गतेसम्म प्रधानमन्त्रीको पहिलो कार्यकाल चलाए। यसअघि विसं २०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। उनले २०७८ साल वैशाख ३० गतेसम्म दोस्रो कार्यकाल चलाए।

सोही दिन पुनः उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्। त्यसपछि उनी २०७८ साल असार २९ गतेसम्म पदमा रहे।

प्रकाशित मिति:July 14, 2024