‘शिक्षकको एउटै पेशागत संगठन भए हुने’

  Sampatti News 2024

July 18, 2024

काठमाडौं। सांसदहरुले शिक्षकको एउटै पेशागत संगठन भए हुने धारणा राखेका छन्, तर दलनिकटका शिक्षक संगठन खारेज गर्न शीर्ष राजनीतिक नेतृत्व सहमत हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा धेरैजसो सांसदहरुले शिक्षकको एउटै पेशागत संगठन भए हुने धारणा राखेका छन् ।

एमाले सांसद रघुजी पन्तले शिक्षकहरूको एउटै संगठन भए हुने बताए । तर यसमा दलहरूको फरक फरक मत भएकाले यो विवाद शीर्ष राजनीतिक तहबाट टुङ्ग्याउनुपर्ने बताए ।

शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा शिक्षकको एउटै ट्रेड युनियन रहने व्यवस्था छ । तर शिक्षकको दल निकट संगठनहरुले भने आफूहरूले संविधानले नै अधिकार दिएको भन्दै विधेयकको व्यवस्थाको विरोध गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले पेशागत हितको लागि एउटा संगठन हुनुपर्ने तर दलीय शिक्षक संघ संगठनहरु खारेज गर्नुपर्ने धारणा राखे ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षकहरू दलीय राजनीतिमा सहभागी भएकाले नै विद्यालय शिक्षाको अवस्था खस्किएको बताए ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने शिक्षकहरूलाई संघ संगठन खोल्न प्रतिबन्ध लगाउन नहुने बताए ।

बिहीबारको छलफलमा सांसदहरुले निजी विद्यालयलाई शैक्षिक गुठीमा जान बाध्यात्मक व्यवस्था राख्ने कि नराख्ने भन्ने विषयमा पनि छलफल गरेका छन् ।

प्रकाशित मिति:July 18, 2024