मानव बेचबिखन गरेको अभियोगमा अधिकारी पक्राउ

  Sampatti News 2024

July 19, 2024

मोरङ । भिजिट भिसा’ मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ। पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो।

अधिकारीले पीडितलाई दुबईमा मासिक ४० हजार तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ दुई लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पीडितलाई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतोगरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा वि।सं। २०७९ जेठ १६ गते दुबई पुर्‍याई बन्धक बनाइएको थियो। बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ।

‘यूएईमाभन्दा कुवेतमा राम्रो तलब हुन्छ,अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाइ २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रमशोषणगरी यौनशोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ’, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाइ २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए।’

अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:July 19, 2024