बंगलादेशबाट आज १७ जना नेपाली विद्यार्थी फार्काइँदै

  Sampatti News 2024

July 21, 2024

काठमाडौं । बंगलादेशमा जारी आन्दोलनका कारण नेपाली विद्यार्थी असुरक्षित महसुस गरेपछि सरकारले स्वदेश फर्कान थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १७ जना विद्यार्थी नेपाल फर्काउन लागिएको आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

उनीहरूलाई आइतबार बिहान ढाका एयरपोर्ट हुँदै काठमाडौं ल्याउन लागिएको जानकारी ओलीले सामाजिक सञ्जालमा दिएका छन् ।

उनले लेखेका छन्, ‘परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौँ फर्काउने प्रबन्ध गरिएको छ।’ विद्यार्थीका परिवारले शनिबार प्रधानमन्त्रीसँग भेट गरी विद्यार्थी फर्काउन आग्रह गरेका थिए।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरेको छ। बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले असुरक्षित भएको बताइरहेका छन्।

बंगलादेशका विभिन्न सहरमा विद्यार्थीको प्रदर्शनको कारण बढ्दै गएको नागरिक अशान्तिलाई नियन्त्रण गर्न शनिबार सेनाले गस्ती थालेको एएफपीले जनाएको छ।

प्रकाशित मिति:July 21, 2024