सर्लाहीमा पूर्वराज्यमन्त्रीको हत्या

  Sampatti News 2024

July 22, 2024

काठमाडौं । सर्लाहीमा पुर्वराज्यमन्त्रीको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रामचन्द्र रायको हत्या भएको हो ।

राप्रपाका नेतासमेत रहेका रायको घरेलु हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरिएको अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव चन्द्रनगर–१ रतनपुरमा फेला परेको प्रहरीले जनाएको छ ।

रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घरमा काम गर्ने रामउजैन रायका अनुसार रायलाई भेट्न तीन जना व्यक्ति राति आएकोमा उनीसँगै सुतेका थिए । उनीहरुले नै पूर्वराज्यमन्त्री रायको हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । सो घटनापछि उनीहरु फरार छन् ।

सर्लाही प्रहरी कार्यालयका सूचना अधिकारी दीपक श्रेष्ठले हत्या भएको खबर गएराति १ बजे प्रहरीसमक्ष पुगेको बताएका छन् ।

अहिले उक्त घटनाको अनुसन्धा सुरु भइसकेको श्रेष्ठले बताए ।

प्रकाशित मिति:July 22, 2024