विपदमा यसवर्ष १ सय ४४ जनाको ज्यान गयो

  Sampatti News 2024

July 23, 2024

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदका कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु र ४८ जना वेपत्ता भएको बताएका । आज बसेका प्रतिनिधिसभा बैठकमा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले यस वर्ष मनसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना भएको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिएका हुन्।

प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजारभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको उनले जानकारी दिए।

गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाई राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिए। उनले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको बताए।

त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताए। उनले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। मन्त्री लेखकले घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको पनि जानकारी दिए।

प्रकाशित मिति:July 23, 2024