‘आश’ लाग्दा ‘कान्छा’ महानिर्देशक

  Sampatti News 2024

July 24, 2024

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागमा हालसम्मकै कान्छा उमेरका महानिर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्री स्तरीय बैठकले विभागको महानिर्देशकमा ई. रामकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

विभागको ५२ वर्षको इतिहासमा ४१ वर्षको उमेरमा महानिर्देशक बन्ने पहिलो सहसचिवको रुपमा ई.श्रेष्ठले कान्छा महानिर्देशकमा आफ्नो नाम दर्ज गरेका हुन् ।

कुशल प्रशासक ई. श्रेष्ठ

विभागको कान्छा महानिर्देशकमा नियुक्त भएका ई. श्रेष्ठ यसअघि पनि कुशल प्रसाशकका रुपमा आफुलाई परिचित गराउदै आएका छन् । युवा महानिर्देशको नियुक्तिले खानेपानी तथा ढल व्यवस्थापन विभागले पनि उत्कृष्ट कार्यसम्पादनका लागि आश लाग्दो व्यक्ति पाएको छ ।

वि.स. २०७० सालको भदौ बाट सोहि विभागको उप महानिर्देशकको रुपमा रहेका श्रेष्ठ सोमबार महानिर्देशकमा नियुक्त भए ।
२०२९ मंसिरदेखि २०३८ पौषसम्म विभागको पहिलो महानिर्देशक हिरण्यजित मल्ल थिए । २०८० असोज १ गतेदेखि २०८१ साउन ६ सम्म कमल राज श्रेष्ठ महानिर्देशक बनेका थिए । त्यसपछि ई. श्रेष्ठले कार्यभार सम्हालेका छन् ।

गोरखामा जन्मिएका श्रेष्ठ २०६८ सालमा इन्जिनियर पदबाट निजामती सेवामा प्रवेश गरेका थिए । २०७२ सिनियर डिभिजनल इन्जिनियर (सिडीई) हुँदै २०७७ सु ई (सहसचिव) बनेका श्रेष्ठ सबै तहमा खुला प्रतिस्पर्धाबाट छनौट भएका थिए ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा विभिन्न जिल्लाहरूमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनले गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सचिवको रूपमा रहँदा मन्त्रालयको उत्कृष्ट कार्यसम्पादन गरेको चर्चा समेत चलेको थियो ।

प्रकाशित मिति:July 24, 2024