सौर्य एयरको विमान दुर्घटनाः ‘१०० फिट माथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ’

Nepal Cover
१० श्रावण २०८१, बिहीबार
image

काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनामा रनवेबाट जहाज उडाएर ५०–१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन

मनीषरत्न शाक्यले बताएका छन् । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचाररता शाक्यले अस्पतालकी प्रा.डा. मीना थापासँग दुर्घटनाका विषयमा कुराकानि भएको छ । आज अस्पतालले विज्ञप्ति जारी गर्दे क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो।

जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते हुनुभएको थियो।

अस्पतालकी निर्देशक डा. थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै जानकारी दिएकी छन्। ‘जहाज उडाउन कोशिस गर्दै थिएँ, ५०–१०० फिट माथि गएको थियो । त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा थापाले भनिन्, ‘छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता–कताबाट बाहिर निस्किएँ।’ शाक्यलाई आइसियूमा राखेर उपचार गरिएको छ । सौर्य एयरको नाइनएन– एएमई – सिआरजे २०० कलसाइनको जहाज बुधबार दुर्घटनामा परेको थियो।