मन्त्रिपरिषद् बैठक : राजदूत सिफारिस , को कुन देश ?

  Sampatti News 2024

July 30, 2024


काठमाडौं ।  सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई थमौती गर्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ। श्रेष्ठ माओवादीको तर्फबाट चीनमा सिफारिस भएर गएका थिए।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता छोड्न परे लगत्तै माओवादीमा सिफारिस भएकाहरु फिर्ता आउन पर्ने थियो। तर, उनी फिर्ता नआई बसिरहेको थिए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई फिर्ता बोलाएको हो।

यसअघि दाहाल नेतृत्वकाे सरकारले पनि शर्मालाई भारतकाे राजदूतमा सिफारिस गरेकाे थियाे। भारतमा शर्मालाई फिर्ता गरेर सुरक्षा परिषद सल्लाहकार शंकरदास बैरागीलाई पठाउने तयारी गरेको भए पनि अन्तिम समयमा शर्मालाई नै निरन्तरता दिने निर्णय भएको हो। भारतमा बिदाइ भेट समेत गरेका शर्मा आएर पुनः नियुक्ति लिएर जाने वा त्यही रहने भन्ने विषय अझै अन्योलमा छ।

यसअघि माओवादी एमाले सरकारमा हुँदा सिफारिस भएका राजदूतमा एमालेले आफ्नो तर्फबाट राखेको नाममा हेरफेर खासै नगरे पनि मुलुक भने हेरफेर गरेको छ। लोकदर्शन रेग्मीलाई अमेरिका र यसअघि अमेरिका सिफारिस भएका चन्द्र घिमिरेलाई बेलायत पठाउने निर्णय लिएको छ। रेग्मी यसअघि भारतका लागि सिफारिस थिए भने घिमिरे यसअघि अमेरिकाका लागि सिफारिस थिए।

छिमेकी चीनमा भने कृष्णप्रसाद ओलीलाई पठाउने भएको छ। चीनको राजदूतका लागि सिफारिस भएका ओली प्रकृति संरक्षण कोषका अध्यक्ष हुन्।

दक्षिण कोरियामा पूर्वउपसभामुख एव‌ं पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई नै पठाउने निर्णय भएको छ। यस्तै साउदी अरबमा नरेशविक्रम ढकाल, श्रीलंकामा रामकृष्ण भट्टराई, इजरायल धनप्रसाद पण्डित, पोर्चुगलमा प्रकाशमणि पौडेल, जर्मनीमा शैल रुपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पाकिस्तान रिता धिताल, स्पेनमा सनिल नेपाल राजदूतका लागि सिफारिस भएको एक मन्त्रीले जानकारी दिए। सनिल नेपाल  यसअघि पोर्चुगलका लागि सिफारिस भएर जान पाएका थिएनन्।

नरेशविक्रम ढकाललाई यसअघि कतारबाट फर्काइएको थियो। ढकाल कतारी अमिरको नेपाल भ्रमण गराएपछि चर्चामा आएका राजदूत हुन्। यस्तै कान्ता रिजाल यसअघि इजरायलमा राजदूत दिइन्। पोर्चुगलमा सिफारिस भएका पौडेल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् भने पाकिस्तानमा सिफारिस भएकी धिताल पनि परराष्ट्रकी सहसचिव नै हुन्। जर्मनीमा हाल राजदूत रहेका रामकाजी खड्का परराष्ट्रका सहसचिव हुन्, उनी कार्यकाल सकेर फर्कने भएकाले त्यहाँ रूपाखेतीलाई राजदूत सिफारिस गरिएको हो।

चीनका श्रेष्ठ, रुसका मिलन तुलाधर र अष्ट्रेलियाका कैलाशराज पोखरेल (माधव नेपालका बैनी ज्वाइँ)लाई फिर्ता बोलाइएको हो। श्रीलंकाका बासुदेव मिश्र र दक्षिण अफ्रिकाका दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको हो। अन्यको हकमा पहिले नै फिर्ता बोलाइएको हो।

सरकारले १८ जना राजदूत सिफारिस गरेको छ। तर मन्त्रिपरिषद्को निर्णय भने बाहिर ल्याइएको छैन।

प्रकाशित मिति:July 30, 2024