नेपाल विद्युत प्राधिकरण : कुलमानले बैठकमा बोलाए सरकारको ठाडो आदेशमा हटाएका दुई सदस्य

  Sampatti News 2024

August 4, 2024

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालक समितिबाट हटाइएका भक्तबहादुर पुन र कपित आचार्यलाई सञ्चालक समितिको बैठकमा बोलाएका छन् ।

प्राधिकरणका बोर्ड सदस्यद्वय आचार्य र पुनलाई सरकारले पदमुक्त गरेको पत्र १८ गते लेखेको थियो तर आज मात्र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले भने इमेलमार्फत आइतबार २ बजेर १५ मिनेटमा पत्र आएको उनीहरुको दाबी छ ।

पुन र आचार्यलाई हालै मात्र सरकारको ठाडो आदेशमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।

खास गरी उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई सरकारलाई असहयोग गरेको भन्दै मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।

विना कारण आफूहरूलाई जिम्मेवारीबाट हटाएकाले सरकारविरुद्ध अदालत जाने बताइरहेकै बेला कार्यकारी निर्देशक घिसिङले बोर्ड सदस्यकै भूमिकामा आचार्य र पुनलाई बैठकमा बोलाएको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादी कोटामा आचार्य र नेकपा माओवादी केन्द्र कोटामा पुनलाई प्राधिकरण बोर्डमा नियुक्त गरिएको थियो ।

प्रकाशित मिति:August 4, 2024