सर्वोच्चले आव २०८०/०८१ मा १५ हजार बढी मुद्दा फर्स्योट गर्यो

Nepal Cover
२१ श्रावण २०८१, सोमबार
image

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा सर्वौच्च अदालतले १५ हजार चार सय ८४ वटा मुद्दा फस्र्योट गरेको छ । वितेका ५ वर्षको तुलनामा मुद्दा फस्र्योटको संख्या सबैभन्दा धेरै हो ।

सो आवमा सर्वोच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ। आव २०७९/८० मा ३० दशमलव १७ प्रतिशत, आव २०७८/७९ मा १९ दशमलव एक प्रतिशत, आव २०७७/७८ मा १५ दशमलव ८२ प्रतिशत र आव २०७६/७७ मा ३० दशमलव ५१ प्रतिशत मुद्दा फर्स्योट भएको थियो।

सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले सर्वोच्च अदालतमा मुद्दाको फर्स्योट सुधारोन्मुख रहको बताए। सबै मुद्दालाई उत्तिकै प्राथमिकता दिएर छिटो सुनुवाइ गर्ने योजनाका साथ काम गरिरहेको उनको भनाइ छ।

‘छिटो मुद्दा फर्स्योट गर्ने न्यायालयको योजना नै रहको छ, तर अदालती प्रक्रिया पुर्याउनुपर्ने हुन्छ’, उनले भने, ‘प्रक्रिया पुर्याउँदा कतिपय मुद्दा समयमा फर्स्योट भएको अवस्था पनि छ, न्यायाधीशको सङ्ख्या घट्दै जाँदा पनि असर पर्ने गरेको छ।’

आव २०८०/८१ मा दुई वर्ष नाघेका मुद्दा पनि सर्वोच्चले सबैभन्दा धेरै फर्स्योट गरेको छ। विगत पाँच वर्षको तुलना गर्दा उक्त आबमा दुई वर्ष नाघेका सबैैभन्दा बढी मुद्दा आठ हजार एक सय २२ (४० दशमलव ३२) प्रतिशत मुद्दा फर्स्योट गरेको छ। दुई वर्ष नाघेका मुद्दा २० हजार एक सय ४२ रहेकामा १२ हजार २० मुद्दा फर्स्योट गर्न बाँकी रहेको छ।