प्रमुख जिल्ला अधिकारी भएर जान कर्मचारीबीच तछाडमछाड

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । कांग्रेस–एमालेको समिकरणमा नयाँ सरकार गठन भएपछि कर्मचारीहरु पनि आफ्नो सरुवा बढुवा मिलाउन सक्रिय भएका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखक गृहमन्त्रालय आएपछि कांग्रेस निकट का केही कर्मचारीहरु महत्वपूर्ण जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी भएर जान आ–आफ्नो तर्फबाट प्रयास गरिरहेको बुझिएको छ ।

यता गृहमन्त्री लेखक पनि केही महत्वपूर्ण मानिएका जिल्लाहरुमा प्रजिय फेर्ने तयारीमा छन् । लेखकले नेतृत्व सम्हालेपछि गृह प्रशासनमा आमूल परिवर्तन र हेरफेर गर्ने तयारी गरिरहेको बुझिएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, रूपन्देही, कास्की, कपिलवस्तु, दाङ, बाँके, कैलाली, झापा, मोरङ, सुनसरी, धनुषा, बारा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवाजस्ता भन्सार नाका भएका जिल्लाहरूको प्रमुख जिल्ला अधिकारी भएर जानको कर्मचारीहरु चलखेलमा रहेको स्रोतले बताएको छ ।

पहिलो प्राथमिकतामा रहेको काठमाडौ जिल्लामा हाल कार्यरत प्रजिअ जितेन्द्र बस्नेतले जिम्मेवारी लिएको १३ महिना पछि हटाएर अर्को व्यक्ति त्यहाँ पठाउन गृहले तयारी गरिरहेको बुझिएको छ ।

अहिले गृहमन्त्री लेखकले दाङ, ललितपुर, सुनसरी जस्ता जिल्लाको कमाण्ड सम्हालिसके कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यलाई काठमाडौंको सिडिओ बनाउन खोजेका छन् । त्यस्तै मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई काठमाडौं ल्याउन चर्को दबाब छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी पनि काठमाडौं आउनका लागि जोडबल गरिरहेको पाइन्छ।

प्रकाशित मिति:August 5, 2024