मौसमः ३४ जिल्लामा ‘रेड अलर्ट’, सतर्कता अपनाउन आग्रह

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । सोमबार रातिदेखि लगभग देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।

सोमबार नै मौसम विभागले देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा निकै ठूलो पानी पार्ने विभागले जनाएको हो । विभागले आज र भोली लागि ३४ वटा जिल्लालाई ‘रेड जोन’ मा राख्दै रेड अलर्ट जारी गरेको हो ।

विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ ।

यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ । यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।

आज र भोली बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ ।

प्रकाशित मिति:August 6, 2024