मधेश प्रदेशमा मन्त्रिहरुको थुप्रो

  Sampatti News 2024

August 7, 2024

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका छन्। १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१राज्यमन्त्री नियुक्त भएका हुन्।

कांग्रेससबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन्। एमालेबाट मो। जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुले मंगलबार नै शपथ लिएका छन्।

योसँगै मधेश सरकारको मन्त्रिपरिषद् अहिलेसम्मकै ठूलो आकार २० सदस्य बनेको छ। मधेशमा मुख्यमन्त्री कार्यालय बाहेक ११ मन्त्रालय छ । यसअघि १५ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । मुख्यमन्त्री सिंहले ३ साउनमा कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउँदा पनि सबै मन्त्रालयले नेतृत्व पाइसकेको थियो । सरकारमा जनमतका शुख्यमन्त्री बाहेक दुई मन्त्री, एमालेको चार मन्त्री र दुई राज्यमन्त्री, कांग्रेसको चार मन्त्री र लोसपाको एक मन्त्री थिए।

तर लोसपालाई एक राज्यमन्त्री दिने मौखिक सहमति मुख्यमन्त्री सिंहले गरिसकेका थिए । लोसपाकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री भइसकेकी थिइन्।

प्रकाशित मिति:August 7, 2024