प्रजिअको कार्यसम्पादन सार्वजनिक, रुपन्देही जिल्ला पहिलो

  Sampatti News 2024

August 7, 2024

काठमाडौं । देशभर मध्येबाट रुपन्देही जिल्ला प्रशासन कार्यालय देशकै प्रथम कार्यालय बनेको छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम रुपन्देही उत्कृष्ट बनेको हो । सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक ल्याएर पहिलो बनेको हो ।

गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादनमा त्यस्तो देखिएको हो ।

९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ । तेस्रोमा बागलुङ छ उसले ९७.६२५ अंक प्राप्त गरेको छ ।
चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७.५ ल्याएको छ । पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७५ अंक ल्याएका छन् ।

पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौँमा गुल्मी प्रशासन आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । त्यसैगरी सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेलधुराले क्रमशः ९६.८७५, ९६.७५, ९६.५६२५ र ९६.४३ अंक ल्याएका छन् ।

पहिलो अंक प्राप्त गर्ने रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् ।

व्यक्तिहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रजिअ अर्यालले गरेका थिए ।

सोहि कामको मूल्याङ्कनका आधारमा रुपन्देही पहिलो भएको हो ।

प्रकाशित मिति:August 7, 2024