नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News 2024

August 7, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दे अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारले मुद्दा दायर गरेकामा सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल छन् ।

जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा केही दिनअघि टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट चार लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।थप अनुसन्धान गर्दा यादव, सुवेदी र भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाबिक गर्न गराउनको लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

दायर गरिएको मुद्दामा उनीहरूसँग चार लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति:August 7, 2024