पशुपतिको कोटिहोममा आचार्य कृष्ण दमाईको कथा वाचन, भन्छन्– पशुपतिको चरणमा स्वर्गको महसुस भयो

  Sampatti News 2024

August 9, 2024

काठमाडौं । पशुपतिनाथ क्षेत्र परिसर भित्र चलिरहेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले व्यासबाट सम्बोधन गरेका छन् । आचार्य कृष्ण दमाई कोटिहोममा सहभागि मध्ये पहिलो दलित समूदायको कथा वाचक हुन् ।

उनलाई समारोहमा भव्य स्वागतसमेत गरिएको छ । व्यासमा बसेर सम्बोधन गर्दै उनले आफुलाई यो स्थानसम्म पुर्याउन योग्य बनाउने गुरुहरु प्रति नमन व्यक्त गरेका छन् ।

दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन उनले बर्षन गरेका छन् ।

उनले कथा वाचनको सुरुमा पशुपतिको चरणमा स्वर्गको महशुस भएको समेत बताएका छन् ।

उनको सम्बोधन

मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरूप्रति आभार प्रकट गर्न चाहन्छु । एउटा सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरूमा मलाई समावेश गराउने आदरणीय गुरुहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको छु । म विद्यालयमा पढ्दा सधैँ प्रथम हुन्थे । २०६४ सालमा एसएलसी उत्तीर्ण गरेँ । हरेक ठाउँबाट बधाई आयो । साइन्स, म्याथ पढ्ने इच्छा नभएको होइन, तर मेरो कर्म र मेरो भाग्यले यो क्षेत्रमा डोर्‍यायो, जसले गर्दा मेरो शरीर नरहे पनि म महान् गुरु ईश्वरदत्त भट्टलाई सधैँ सम्झिरहनेछु । ती गुरुले मलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाउनुभयो । भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि छात्रवृत्ति पाएर सोचेको ठाउँमा पढ्न सक्छस् भनेर बाटो देखाउनुभयो । त्यो पवित्र ठाउँमा पुगेपछि गुरुहरूको आशीर्वादले माया र प्रेरणाले यहाँसम्म पुगेँ । गुरुहरूलाई पुनः शिर झुकाइ अर्पण गर्न चाहन्छु । कतिपय मानिसहरूले धरै कुरा भने । यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे । मलाई गुरुले धेरै कुरा भनेर जानुभएको छ । मैले धेरै भन्नुपर्ने अवस्था छन् । मैले कर्मकाण्डका लागि होइन, आफ्नो विद्वताका लागि, आफ्नो सनातनका लागि जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ । मैले आफ्नो माता र पिता गुमाइसकेको अवस्था हो । १२ मा पढ्दा माताको मृत्यु भएको थियो । साह्रै भतारिएको थिएँ । ८ वर्षपछि २०७८ सालमा बुवाले पनि देहत्याग गर्नुभयो । बुवाले भन्नुहुन्थ्यो( कृष्णबाबु तिमी एक दिन असल मान्छे बन्नू । म आज प्रत्येक शुभकार्यमा मातापिता र गुरुदेवलाई कोटीकोटी प्रणाम गर्छु । मैले प्रस्ट रूपमा गुरुजीलाई भनेको थिएँ । मलाई यहाँसम्म पुर्‍याउनुभयो, यसरी बिराजमान गराउनुभयो । पूर्वतयारी नगरेको अवस्था थियो । यसर्थ म आत्मप्रवचनको व्यवस्था गर्छु । दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन पढ्नुपर्ने रहेछ भन्ने आजको यस ऐतिहासिक कोटीहोमले गरेको हुनाले म श्री विजयकृष्ण मूर्तिज्यू महाराजलाई कृतज्ञता प्रकट गर्छु । यस्तो पवित्र स्थलमा पुग्छु र बोल्छु भन्ने कल्पनै थिएन । हामीमा धार्मिक रूपले विध्वंस मच्चाइ एक अर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ । अहिलेसम्म हिन्दु सनातनले सहँदै आएको छ । अब हामी हिन्दूत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ । हिन्दु संस्कारलाई बचाउनु छ भने सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरुरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नु जरुरी छ । एकएक शब्द होइन, लाखौँ शब्दले पूर्व पश्चिम, उत्तरऔदक्षिण सबैतिर धर्मको दियो जलाउनु जरुरी छ । मेरा लागि यो ऐतिहासिक कोटीहोम स्वर्गमय बनेको छ ।’

प्रकाशित मिति:August 9, 2024