विना अवरोध हनुमानको झण्डी निकालियो, तोडियो ४१ वर्षको इतिहास

  Sampatti News 2024

August 9, 2024

रौतहट । रौतहटको ईशनाथ नगरपालिका स्थित घिउरा गाउँबाट हरेक वर्ष हनुमानको झण्डी निकाल्ने परम्परा छ ।
प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन आज शुक्रवार ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी बाजागाजासहित त्यहाँ बाट झण्डी निकाल्ने परम्परा छ ।

यसपटक झण्डी लिएर सैयौंको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर पोखरीको डिल हुँदै छोटका घिउरा गाउँ गएका थिए । छोटका घिउरा गाउँमा झण्डी मिलान गरी भारतीय क्षेत्र नरकतिया पोखरीमा पुर्याईएको थियो । परापूर्वकालमादेखि घिउरा बाट हनुमानको पूजा गरी झण्डी गएपछि मात्र भारतीय गाउँ नरकतियामा मेलामा लग्ने गरिएको समाजसेवी आमाज्ञा ठाकुले जानकारी दिए ।

४१ वर्षिय इतिहासमा शान्तिपूर्वक भण्डी निकालियो

हरेक वर्ष भण्डी निकाल्दा यहाँ केही न केही तनाव उत्पन्न हुने गरेको थियो । भण्डी निकालेर नरतकिया पुर्याउदा बीच बाटोमा मुस्लिम समूदायको वाहुल्यता भएका कारण केही न केही समस्या उत्पन्न हुने गरेको थियो ।

यसपटक रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको सक्रियताले घिउरा गाउँबाट शान्तिपूर्ण तरिकाले हनुमानको झण्डी निकालिएको हो ।

पर्सा जिल्लाबाट रौतहट आएका प्रजिअ रेग्मीको काम एकपछि अर्को गर्दै लोकप्रिय बन्दै गएको जिल्ला वासीहरुले बताउने गर्छन् । उनको शुक्रबार भएको भण्डी निकाल्ने विषयमा सुरक्षालाई सहज बनाएर उनी अझै प्रसंसाको उचाइमा पुगेका रौतहटका अगुवाहरु बताउछन् ।

भनिन्छ मधेसमा काम गर्न धेरै कठिन छ । रौतहट आउने कतिपय प्रजिअ विवादमा मात्रै तानिएका थिएनन् । आफनै कर्मचारीलाई संरक्षण गर्न नसक्दा समस्या खेप्नुपरेको इतिहास रौतहटसँग छ । यो बीचमा गृह मन्त्रालयले प्रजिअहरुको कार्यसम्पादन मुल्यांकन गर्दा रौतहट प्रदेश कै दोश्रो स्थान हासिल गर्न सफलसमेत भएको छ । कामको हिसाबले रौतहट पहिलो हुनुपर्ने यहाँ स्थानीय नागरिक समाजका अगुवाहरु बताउने गर्छन् ।

यसपटक भण्डी निकाल्नका प्रजिअ रेग्मीकै योजनामा सफल भएको हो । घिउरा स्थित हिन्दु समुदायले मनाउने झण्डी पूर्वमा कुनै अप्रिय घटना नहोस भने बिहानैदेखि करिव ५०० को सख्यामा प्रहरी परिचालन गरिएको थियो । ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दु मुस्लिमबीच साम्प्रदायिक सद्भाव विग्रिन नदिन विशेष सतर्कता अपनाइएको थियो ।

प्रजिअ रेग्मी, नेपाली सेनाका कर्णेल किशोर श्रेष्ठ, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह समेत फिल्डमा खटिएका थिए ।

शुक्रवार मन्दिरमा पूजा अर्चना पछि अपरान्ह झण्डीसहित गाउँ घुम्दै गन्तब्यसम्म पुग्दा कुनै बाधा अड्चन बादविवाद नभएको सिडियो रेग्मीले जानकारी दिएका छन् ।

विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रीयोस भनेर बिहिवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

४१ बर्ष अघि तत्कालीन सिडियो पुण्य प्रसाद लुइटेलले बिभिन्न राजनीतिक दवाबमा परेर घिउरा गाउँबाट झण्डी लिएरजाने टोलीमा बढीमा ४१ जना मानिस सहभागी हुने र वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने निर्णय गरेका थिए ।
सोही निर्णयको आधारमा प्रत्येक बर्ष हुने बिबादलाई जरा देखिनै हटाउन केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक बसेर उक्त निर्णय खारेज गरि मूलबाटो बाटै सानो घिउरा जाने निर्णय गरेको थियो ।

साथै ईशनाथ नगरपालिकाको समन्वयमा स्थानिय नागेन्द्र ठाकुरको संयोजकत्वमा ११ सदस्यीय झण्डी मेला व्यवस्थापन समिति गठन गरिएको उनले बताए । पूर्व गाविस अध्यक्ष सेख पहाडीका साथै मुस्लिम समुदायका अगुवाहरुलाई सम्झाइ बुझाइ गर्दा अवस्था अझ सहज बनाउन सफल भएको एसपी दिलीप घिमिरेले जानकारी दिएका छन ।

उनले झण्डी मेला शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुक्रवार विहानै देखि ईशनाथ नगरपालिका र भारतीय नाकामा अघोषित नाकाबन्दी गरिएको थियो ।

ईशनाथ नगरपालिकाकी मेयर प्रत्यासी अन्जु झाले ४१ बर्ष पछि झण्डी लिएर मात्र ४१ जना जान पाउने ऐतिहासिक निर्णय खारेज हुँदा दुबै समुदायको लागि राम्रो भएकाले स्थानीयहरू खुसी भएको बताएकी छिन् ।

गत वर्ष भएको थियो झडप

गत वर्ष फागुन महिनामा घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएको थियो । त्यतिखेर स्थिति नियन्त्रणभन्दा बाहीर भएकाले प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञ बिनोद पोखरेल परिचालित भएका थिए ।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका स्थित विगतमा झण्डीको बिषय लिएर दुई समुदायबीच बिवाद भएपछि हजारौँ भारतीय नागरिक आएर विवाद चर्काएका थिए ।

प्रकाशित मिति:August 9, 2024