मदिरा सेवन गरेका उपसचिव दीपक आचार्यले धनगढी विमानस्थलमा देखाए रमिता

  Sampatti News 2024

August 10, 2024

काठमाडौं । धनगढी विमानस्थलमा एक उपसचिवले मापसे सेवन गरेर रमिता देखाएका छन् । कर्णाली प्रदेशमा सरुवा भएर पुगेको उपसचिव दीपक आचार्यले विमानस्थलमा हदै सम्मको हर्कत देखाएको बुझिएको छ ।

१५ दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्णाली प्रदेशमा सरुवा भएर पुगेका आचार्यलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ तर उनको पदस्थापन भइसकेको छैन ।

शुक्रबार अपरान्ह ३ बजे बुद्ध एयरलाइन्सको धनगढीबाट काठमाडौँ आउन लागेका आचार्यले अत्याधिक मदिरा सेवन गरेको भेटिएसँगै एयरलाइन्सका कर्मचारीहरुले बोर्डिङ पास नदिएर फर्काएको थियो । उनले नेपाल सरकारको कर्मचारी भएको कार्ड देखाए । परिचपत्र देखाउँद पनि विमानस्थलका कर्मचारीहरुले बोर्डिङ पास दिएनन् ।

आचार्यले बोर्डिङ पास नपाएपछि उनले तत्काल त्यहाँका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई टेलिफोन गरे । प्रजिअसँग धनगढीबाट काठमाडौं जान खोज्दा एयरलायन्सका कर्मचारीहरुले दुर्व्यवहार गरेको भनेपछि प्रजिअ तत्काल विमानस्थल पुगेका थिए ।

उनले घटना स्थिति बुझ्दा उपसचिव आचार्यले अत्याधिक मदिरा सेवन गरेको र एयरलायन्सले बोर्डिङ पास नदिएको जानकारी पाए । प्रमुख जिल्ला अधिकारीले सम्झाउन खोजे । त्यतिखेर मुखमुखै लागे । प्रमुख जिल्ला अधिकारीले नै बोर्डिङ पास नदिन लगाएको झैं गरी उनी सँग झगडा गर्न तम्सिए । मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर प्रजिअदेखि प्रहरीका प्रमुखहरुलाई तथानाम बोल्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

प्रकाशित मिति:August 10, 2024