सहकारी पीडितहरू शवको बाकससहित काठमाडौंमा प्रदर्शन

  Sampatti News 2024

August 11, 2024

काठमाडौं । सहकारी पीडितहरुले शवको बाकस बोकेर काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी पीडित मृतकको फोटो टाँसेर बाकससहित प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा उक्त प्रदर्शन भएको हो । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएपछि पीडितहरु शवको बाकससहित प्रदर्शनमा उत्रिएका बुझिएको छ ।

वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।

सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन् । निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए ।

राजेन्द्रकी श्रीमती जसबाटी बज्राचार्यले बैंकमा राखेको एक करोड ३३ लाख रुपैया झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन् । स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भएपनि जम्मा गरिदिन आग्रह गर्दा समेत सञ्चालक राईले नटेरेको बताइएको छ ।

प्रकाशित मिति:August 11, 2024