प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर एआईजीको पदावधि ४ वर्ष राख्न सुझाव

  Sampatti News 2024

August 12, 2024

काठमाडौं । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको नेतृत्वको कार्यदलले अतिरिक्त महानिरीक्षक (एआईजी) को कार्यकाल ४ वर्ष राख्नुपर्ने कार्यदलको अध्ययन निष्कर्ष छ ।

नयाँ प्रहरी ऐनको मस्यौदामा अध्ययन गर्न बनेको कार्यदलले प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाएर एआईजीको पदावधि ४ वर्ष राख्नुपर्ने सुझाव दिएको हो ।

साउन १७ गते कार्यदलले बुझाएको प्रतिवेदन बुझाएको थियो । नयाँ प्रहरी ऐनको मस्यौदामा एआईजीको पदावधि कति वर्ष राख्ने भन्नेबारे ‘विवाद’ छ ।

कार्यदलले ३० वर्षे सेवा अवधि विभिन्न चरणमा हटाउन सुझाएको छ । ३० वर्ष पुरा गरेर अवकाशमा जान लागेका प्रहरी कर्मचारीको सेवा अवधि पहिलोपटक ६ महिनाको दरले बढाउन प्रस्ताव गरिएको कार्यदलका एक जना सदस्यले बताए । ती सदस्यले भने, ‘प्रत्येक आर्थिक वर्षमा ६ महिनाको दरले बढाउँदै लाँदा उपयुक्त हुने हाम्रो निष्कर्ष छ ।’

प्रहरी महानिरीक्षकको पदावधि ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपीको ८ वर्ष र एसपीको हकमा १० वर्ष राख्नुपर्ने प्रस्ताव छ । अवकाशमा जाने उमेर हद आईजीपीको ६०, एआईजी र डीआईजीको ५९ वर्ष, एसएसपीको ५८ वर्ष, एसपी र डीएसपीको ५७ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

कार्यदलले प्रहरी र सशस्त्रमा समान पदावधि बनाउन सुझाव दिएको छ ।

प्रकाशित मिति:August 12, 2024