मन्त्रीको निर्देशन पछि अस्पतालहरुले सिफ्ट बनाएर दिन थाले सेवा

  Sampatti News 2024

August 13, 2024

काठमाडौं । स्वास्थय तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालमा देखिएको भिडभाडलाई व्यवस्थापन गर्नका लागि अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको समस्यालाई समाधान गर्न ९ बुँदे निर्देशन दिएका थिए ।

मन्त्रीले निर्देशन दिएपछि संघीय राजधानीका भिड देखिने अस्पतालहरुले दुई सिफ्टमा सेवा सुरु गरेका छन् ।

कुन अस्पताललले कसरी सुरु गरे सेवा

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंले २४ सै घण्टा आकस्मिक शल्यक्रिया आरम्भ गरेको छ । अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र ओपीडीका लागि एक महिनाभित्र शल्यक्रियाको पालो आउने व्यवस्था मिलाएको छ । स्वास्थ्य बीमाका औषधी पर्याप्त व्यवस्था गरेको अस्पतालले दुईवटा टिकट काउण्टर र अनलाईन पेमेन्ट सुविधा पनि दिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ओपीडीको टिकट बिहान ११ः३० सम्म व्यवस्था गरेको छ । अस्पतालले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ । साथै, अनलाइनबाटै ल्याब रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ । अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधी आफ्नै फार्मेसीबाट वितरण थालेको जनाइएको छ । अस्पतालको शौचालयलगायत क्षेत्रमा सुधार भएको विवरण अस्पतालले दिएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जनरल ओपिडी सेवा ९ देखि ४ बजेसम्म थालिएको छ । यसका अलावा अपरेशन सेवामा एक घण्टा वृद्धि गरिएको रिपोर्ट अस्पतालले दिएको छ । भिड व्यवस्थापनका लागि अनलाइन टिकट प्रभावकारी देखिएको अस्पतालले जनाएको छ ।
कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शैय्या तथा अब्जरभेसनका लागि २० शैय्या थप गर्ने प्रक्रिया आरम्भ भएको छ । अस्पतालमा भीड व्यवस्थापनका लागि टोकन प्रणालीलाई थप व्यवस्थित बनाइएको जानकारी अस्पतालले दिएको छ ।

पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको छ । डिजिटल बिल प्रणाली भदौ १ बाट थाल्ने अस्पतालले बिदाको दिनमा समेत ओपीडी र शल्यक्रिया थालेको छ ।

वीरगञ्जको नारायणी अस्पतालले शैय्या अभाव हटेको छ । अस्पतालमा स्वास्थ्य बीमाका औषधी पर्याप्त मौज्दान रहेको र भिड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाईन टिकट व्यवस्था गरिएको छ ।

बीपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँ, वीर अस्पताल लगायतले पनि भीड व्यवस्थापन, सरसफाइ लगायतमा भएको सुधारबारे विवरण पठाएका छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा दुई सिफ्टमा सञ्चलनका अतिरिक्त अस्पतालको सेवा अवधि थप गरेको छ । अस्पतालमा रेडियोलोजीका लागि बेग्लै काउण्टर खोलिएको छ । प्रतिष्ठानमा सेवा लिनका लागि क्युआरमार्फत भुक्तानी भैरहेको छ ।

प्रकाशित मिति:August 13, 2024