फेसबुकको माध्यमबाट क्यान्सरपीडितको उपचारमा २७ लाख सङ्कलन

  Sampatti News 2024

August 14, 2024

पाँचथर । सामाजिक सञ्जालको उपयोग गरेर यहाँकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि रु. २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राई (सुस्मिता)को उपचारका लागि फेसबुकको माध्यमबाट रु. २७ लाख ११ हजार ४२९ सङ्कलन भएको हो ।

स्तनको क्यान्सर भएकी सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारमा आर्थिक सहयोग गर्न अपील गरेका थिए । सहयोग सङ्कलनको अभियानमा सामाजिक सञ्जालमार्फत नै देश विदेशमा रहेका मानिसहरु जोडिएका थिए ।

बान्तवाको आव्हानपछि देश तथा विदेशमा रहेका सहयोगीहरुले बैङ्क खातामा रकम जम्मा गरेका थिए । सहयोग रकम जम्मा गर्ने सबैको तस्वीरसहित धन्यवाद ज्ञापन गरिएको फेसबुक स्टाटस पनि हाल्ने गरिएको थियो ।

चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन थालेकी सजिनाको थप उपचार झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा चलिरहेको छ । उपचारमा मोटो रकम आवश्यक भएको तर विरामीका परिवारसँग प¥याप्त रकम नभएपछि बान्तवाको अगुवाईमा सामाजिक सञ्जाल फेसबुकमा सहयोग सङ्कलनको अभियान चलेको थियो ।

रकम सङ्कलनपश्चात सजिनाको शल्यक्रिया भई जीवन रक्षा गर्न आफूहरु समर्थ भएको अभियन्ता बान्तवाले बताए । “सबैको साझा प्रयासबाट सजिनालाई बचाउन सफल भयौं । त्यही खुशी बाड्न चाहन्छु”, उनले भने ।

बान्तवाको अगुवाईमा यसअघि पनि कमजोर आर्थिक अवस्थाका विरामीहरुको उपचारमा लाखौं रकम सङ्कलन भई धेरैको जीवन रक्षा सम्भव भएको फालेलुङ–६ का पनिता राईको भनाई छ ।

प्रकाशित मिति:August 14, 2024