विपद्मा परि १७५ जनाको मृत्यु, ४ हजार ४ सय ७२ घर परिवार विस्थापित

  Sampatti News 2024

August 16, 2024

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १७५ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १७५ जनाको मृत्यु भएको हो।

साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २४ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

साथै काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २८६ वटा घर, १०५ वटा गोठ, ४९ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८२० वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ४ सय ७२ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति:August 16, 2024