२९ कर्मचारीको विभिन्न मुलुकस्थित दूतावास र मिसनमा सरुवा गर्दै परराष्ट्र मन्त्रालय

  Sampatti News 2024

August 21, 2024

काठमाडौं । परराष्ट्र मन्त्रालयले २९ जना परराष्ट्र सेवा भित्रका कर्मचारीलाई विभिन्न मुलुकस्थित दूतावास र मिसनमा सरुवा गरेको छ ।

जसमा सुब्बा तहका कर्मचारी देखि उपसचिव सम्मलाई सरुवा गरेको बुझिएको छ । मन्त्रालयले वर्षमा दुईपटक कर्मचारी सरुवा गर्ने गर्छ । सोहि अनुरुप पहिलो साउनमा २९ जना कर्मचारीको सरुवा गरेको हो । दोस्रो पटक माघमा मन्त्रालयले सरुवा गर्ने गर्छ ।

सरुवा भएर जानेहरुमा उपसचिव तहका चार जना , १२ जना शाखा अधिकृत र १३ जना नायव सुब्बालाई विभिन्न मुलुकस्थित दूतावास र मिसनमा खटाएको छ ।

नेपाली दूतावास लण्डनमा डिसिएम विपिन दुवाडी, साउदी अरेबियाको जेद्दास्थित महावाणिज्य दूतावासमा मन्त्री आरजू राणाकी निजी सचिव श्रृजना अधिकारी, युएईको दुबईस्थित दूतावासमा रञ्जिता दाहाल र दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित दूतावासमा पासपोर्टका निर्देशक रमेशकुमार चर्मकारलाई खटाइएको छ ।

यस्तै शाखा अधिकृतहरुमध्ये सार्क सचिवालय, काठमाडौंमा प्रतिज्ञा राई र भुवन पौडेल, न्यूयोर्कमा महेश्वरमणि त्रिपाठी, वासिङ्गटन डिसीस्थित नेपाली दूतावासमा जिना अधिकारी,लण्डनमा उद्धव न्यौपाने, जेनेभास्थित नेपाली नियोगमा ऋचा भट्टराई, नयाँ दिल्लीस्थित दूतावासमा उत्तम न्यौपानेलाई खटाइएको छ ।

प्रकाशित मिति:August 21, 2024