यी प्रदेशमा हुँदैछ भारी वर्षा, सतर्कता अपनाउन आग्रह

  Sampatti News 2024

August 23, 2024

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ।

कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

यसैबीच, विभागले कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको तथा मधेस प्रदेशको बारा जिल्ला आसपासमा भारी वर्षा भइरहेको जनाएको छ। वर्षा गराउने प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्दै गइरहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति:August 23, 2024