ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने गृहको तयारी

  Sampatti News 2024

August 23, 2024

काठमाडौं । गृह मन्त्रालयले एकै पटक ठूलो संख्या प्रमुख जिल्ला अधिकारीको हेरफेर गर्ने गृहकार्य सुरु गरेको छ ।

गृह मन्त्रालयले सहसचिव तहका दरबन्दी रहेका काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, झापा, मोरङ, सुनसरी, बारा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोकका साथै उपसचिव तहका दरबन्दी रहेको रसुवासहितको जिल्लाको प्रमुख जिल्ला अधिकारी गर्न लागेको गृह स्रोतले जनाएको छ ।

हालैमात्र सरकारले ५९ सहसचिव सरुवा हुँदा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको थियो ।

सिन्धुलीका सिडिओ भरत खनाललाई महावाणिज्यदूत बनाउने तयारी स्वरुप परराष्ट्रमा पठाइएको छ भने सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यस्तै, अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकका बनाइएको छ ।

अस्तिकै लटको सरुवामा राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेर पठाइएको छ तर उनीहरुलाई जिम्मेवारी दिइएको छैन ।

उनीहरुलाइृ प्रमुख जिल्ला अधिकारीका रुपमा खटाउने गृहकार्य भइरहेको गृह मन्त्रालय कर्मचारी प्रशासन महाशाखा स्रोतले जनाएको छ ।

यस्तै गृहले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई जिम्मेवारीबाट हटाउने तयारी गरिरहेको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी बन्न गृहका सदावहार सिडियोका रुपमा चिनिने जयनारायण आचार्यदेखि प्रेमप्रसाद भट्टराई र रामचन्द्र तिवारीहरुको सक्रियता बढाएका छन् । काँग्रेस निकट भएका कारण हालैमात्र उद्योगबाट गृहमा प्रवेश गरेर सुनसरीको प्रमुख जिल्ला अधिकारी बन्न गएका रामचन्द्रको बलियो सम्भवना छ ।

गृह कर्मचारी प्रशासन महाशाखाका अधिकारीहरुका अनुसार ७ देखि ९ महिना अवधि कटेका प्रमुख जिल्ला अधिकारीहरु यो लटमा हेरफेरमा पर्नेछन् ।

प्रकाशित मिति:August 23, 2024