फिदिममा विपद सहायता सामग्रीको खुला कक्ष स्थापना

  Sampatti News 2024

August 26, 2024

फिदिम । पाँचथरमा फिदिममा विपद प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुला कक्ष स्थापना भएको छ ।

फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी आइतवार सामग्री राखेको हो । फिदिम बजारको गणतन्त्र चौक, पुरानो ट्राफिक कार्यालय र आहालगैरीमा विपद प्रतिकार्यमा प्रयोग हुने सामग्रीहरु राखिएको खुला कक्ष स्थापना भएको हो । उक्त खुला कक्षमा आगलागी, बाढी पहिरो जस्ता दैवी विपत्तिका घटनाको प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्री राखिएका छन् ।

उक्त विपद सहायता सामग्री खुला कक्षको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले सामग्री राखेर उद्घाटन गरे । खुला कक्ष स्थापना कार्यक्रममा बोल्दै नगर प्रमुख काफ्लेले फिदिमका सार्वजनिक स्थलमा यस प्रकारका सामग्री राख्नाले आगलागी नियन्त्रण तथा विपदमा उद्धारका सामग्री सहज रुपमा समयमै सबैले प्राप्त गर्न सक्ने बताए । “यी सामग्रीको ब्यवस्थापनले दैवी विपत्तिबाट हुने क्षतिलाई कम गर्न मद्दत मिल्ने विश्वास लिएका छौं”, नगर प्रमुख काफ्लेले भन्नुभयो, “सबै पक्षले यी सामग्रीको संरक्षण र सदुपयोगमा सहयोग गर्ने अपेक्षा छ ।”

खुला कक्षमा रहेका सामग्री प्रयोगपश्चात सोही स्थानमा ल्याई राख्ने प्रवन्ध गरिएको उनले बताए । खुला कक्षमा रहेका सामग्रीलाई सबैले साझा सम्पत्तिका रुपमा लिने आशा गरिएको उहाँले वताउनुभयो । नगरपालिकाले आगामी दिनमा यसरी नै अन्य स्थानमा पनि विपत प्रतिकार्य सहायता सामग्री राख्दै जाने नगर प्रमुख काफ्लेको भनाइ छ । सो खुला कक्षमा फायर एक्सटिङग्युसर, बाल्टी, बेल्चा, झम्पल, गैती, खुर्पा, फायरबल लगायत सामग्री राखिएका छन् ।

सोही कार्यक्रममा नेपाली सेनाको फिदिम स्थित रणशेर गणले आगलागीबाट हुने जोखिम कम गर्ने उपायबारे नमूना अभ्यासको पनि प्रदर्शनी गरेको थियो ।

प्रकाशित मिति:August 26, 2024