राजेन्द्र लिङ्देनको आडम्बरः भन्छन् एउटा, गर्छन् अर्को !

  Sampatti News 2024

August 27, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेशी उत्पादन खपत गर्ने गरेको सूचना बेलाबेला सामाजिक संजालमा राख्ने गर्छन् । सामाजिक रुपमा ‘देखाउने दाँत’ जेजस्तो भए पनि विदेशी उत्पादन र अन्तर्राष्ट्रिय ब्राण्ड प्रयोग गर्न लिङ्देन शौकिन छन् ।

लिङ्देनका नजिकका सहयोगीका भनाइमा अध्यक्ष र उपप्रधानमन्त्री बनेपछिका दिनहरुमा उनमा राम्रो लाउने, राम्रो खाने, विदेश घुम्ने शौक र एक किसीमको आडम्बर बढेको छ । ‘अध्यक्षज्यूमा आएको यस्तो बद्वालबाट हामी आफैं चकित र चिन्तित छौं । महंगो विदेशी सामान र उपहार उनको कमजोरी बन्न थालेको छ । म पनि के कम, म नै सबथोक हुँ भन्ने सोँच उहाँमा पलाएको छ,’ एक सहयोगीले नाम उल्लेख नगर्ने सर्तमा भने ।

‘धराने टोपी, लुभुमा बुनेको सर्ट, पाइन्ट र ब्लाकहर्ष जुत्ता’ लगाउने गरेको भनेर लिङ्देनले स्वदेशी मन र सरल जीवनको जति नै प्रचार गरेतापनि उनका सहयोगीले भनेझैं लिङ्देनको जीवन विलासी सामानहरुले घेरिएको छ ।

लिङ्देन निकट स्रोतले बताए अनुसार, लिङ्देनले दुईवटा आइफोन १५ प्रो म्याक्स चलाउँछन् । यो संस्करणको एउटा आइफोनको बजार मूल्य २ लाख ८१ हजार रुपैयाँ छ । दुइवटाको ५ लाख ६२ हजार रुपैयाँ पर्दछ ।

उनी वुल्फ स्कीन ज्याकेट लाउँछन्, वुल्फ स्कीन अन्तर्राष्ट्रिय ब्राण्ड हो र लिङ्देनले लगाउने ज्याकेटको मूल्य ३५ हजार रुपैयाँ पर्दछ । अमेरिकाबाट ल्याएको काउबोेय ह्याट उनी लगाउँछन्, यस किसीमको टोपको मूल्य १० हजार रुपैयाँ पर्दछ ।

साइबेरियनको जातको हस्की कुकुर पालेका छन् । हस्की कुकुरको स्याहारमा मासिक एक लाख रुपैयाँ खर्च लाग्छ । हस्की कुकुरको निरन्तर निगरानी गर्न छुट्टै मान्छे खटाउनुपर्छ, बेलामौकामा भेटनरी सेवा लिनुपर्दछ, यो खर्च मासिक एक लाख रुपैयाँ बाहेकको खर्च हो ।

उनी नेक्सन गाडी प्रयोग गर्छन्, यो कारको मूल्य ५५ लाख रुपैयाँ बराबर छ । यसबाहेक उनको दुईवटा छुट्टै गाडी छ ।

देखाउने दाँत र खाने दाँत बीचको अन्तरबाट लिङ्देनको दुइजिब्रे व्यक्तित्व उदांगो हुनेमा शुभचिन्तकहरु चिन्तामा छन् । ‘आदर्श र आडम्बर बीचको खाडल फराकिलो बनेको छ, अध्यक्षलाई कसले कसरी संझाउने भन्नेमा हामीलाई चिन्ता छ,’ राप्रपाका एक पदाधिदारीले भने ।

प्रकाशित मिति:August 27, 2024