एक नारायण अर्याल मुख्य सचिवमा नियुक्त

  Sampatti News 2024

August 29, 2024

काठमाडौं । सरकारले नयाँ मुख्य सचिवमा एक नारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्य सचिव लीलादेवी गडतौला शुक्रवारदेखि अनिवार्यमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो ।

निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छन् ।

को हुन मुख्यसचिव बनेका अर्याल ?

अर्याल नेकपा(एमाले) निकट भएपनि उनको प्रशासनिक सेवा प्रवाह अब्बल हुने गरेको चर्चा बेला मौका हुने गरेको छ ।

उनले सेवा प्रवाहमा कुनै पनि राजनीतिक रंग नदिइ निष्पक्षरूपमा सेवा प्रदान गर्ने गरेका छन् । अर्याल अहिलेसम्म कुनैपनि विवादमा मुछिएका छैनन् ।

अर्याल मकवानपुर, काठमाडौंलगायतका जिल्लाको सिडिओ भई हालसम्म कुशल प्रशासकको भुमिका निर्वाह गरिसकेका छन् ।
२०७२ सालको विनाशकारी भुकम्पको बेलामा काठमाडौंको सिडिओ हुँदा उनले भुकम्पको प्रकोपमा परेका राजधानीबासीको उद्वार, उपचार, राहत र पुनःस्थापनामा महत्वपूर्ण भुमीका निर्वाह गरेर नागरिक तहमा धेरैको मन जितेको विषय वेला बखत चर्चामा आउने गरेको छ ।

काठमाडौंको सिडिओपछि उनको भारतको कलकत्तास्थित महावाणिज्यदूतमा रहेर काम गरेका थिए । उनले त्यहाँ चार वर्ष महावाणिज्यदूत भएर आयात व्यापार, निर्यात व्यापार, ओैद्योगिक कच्चा पदार्थको आयात र निर्यात व्यापार सहजिकरणमा धेरै ठुलो योगदान दिएका थिए ।

कलकत्तामा महावाणिज्यदूत हुँदा नै सचिवमा बढुवा भएका अर्याल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघिय मामिला तथा सामान्य प्रशासन सचिव, श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव भएर ती मन्त्रालयमा ऐन कानुनगत र संरचनागत सुधार, कर्मचारी प्रशासनको सेवा प्रवाहमा सुधार गरेका थिए, कर्मचारी सरूवामा पारदर्शीता अपनाएर उनी चर्चामा आएका थिए । पछि एमाले, माओवादी केन्द्र र रास्वपाको गठबन्धन सरकारका बेलामा रास्वपाका सभापति रवी लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्री भएपछि गृह सचिवमा सरूवा भएका थिए ।

गृह सचिवमा उनको भुमिका सन्तुलित र प्रभावकारी देखिदै आएको छ । उनलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतका नेतादेखि उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृह मन्त्री रमेश लेखक लागेको बुझिएको छ ।

प्रकाशित मिति:August 29, 2024