अज्ञात वस्तु विस्फोट हुँदा चार बालबालिका घाइते, दुई जना गम्भिर

  Sampatti News 2024

August 29, 2024

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकामा अज्ञात वस्तु विस्फोट हुँदा चार जना बालबालिका घाइते भएका छन् ।

फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँका आइतराज केरुङको घरमा अज्ञात वस्तु विस्फोट हुँदा सोही स्थानका ११ वर्षीय दिप्सन साँवा, दुई वर्षीया प्रियसा साँवा, ११ वर्षीय पवन राई र ७ वर्षीय दिप्सन राई घाइते भएका हुन् । आज दिउँसो ३ः३० बजे अज्ञात वस्तु विस्फोट हुँदा बालबालिकाको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइतेहरुमध्ये तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

घाइतेमध्ये ११ वर्षीय दिप्सन साँवा, दुई वर्षीया प्रियसा साँवाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि झापाको बिएण्डसी अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । घाइते बालक पवन राईको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने सामान्य घाइते दिप्सन राईको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रनाउ भण्डारीले जानकारी दिए ।

सो स्थानमा के विस्फोट भएको हो भन्ने यकिन हुन बाँकी रहेको प्रनाउ भण्डारीको भनाइ छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएको छ ।

प्रकाशित मिति:August 29, 2024