पर्साका एसपी कुमोद ढुंगेलको संरक्षणमा अभियानका ठगहरु सम्पर्क विहिन (भिडिओ)

कहिलेसम्म ठगिने हुन ? पिडितहरु चिन्तामा…

  Sampatti News 2024

August 30, 2024

काठमाडौं । पर्साका एसपी कुमोद ढुंगेलको संरक्षणमा अभियान डिजिटल वल्ड प्रा.लि. का ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफ सम्पर्क विहिन भएका छन् ।

अभियान डिजिटलको ठेगाना काठमाडौं भए पनि सञ्चालकहरु दिपेश, ऋषिकान्त र सुशिलले वीरगंजको बसपार्क त्रिशुल चौकमा कार्यालय खोलेर वर्षौ देखि चिठ्ठा खेलाउदै आएका थिए । अभियानको मुख्य सञ्चालक दोलखा निवासी विष्णु प्रसाद काफ्ले रहे पनि वीरगंजका सञ्चालकहरुले ७ हजार ९ सय ९९ जना सदस्यहरु सँग बिगत २६ महिनामा करिब २५ करोड असुली गरी काफ्लेलाई धोखा दिएपछि काफ्लेले चितवनमा दुरदृष्टि डिजिटल प्रा.लि. छुटै कम्पनि खोली चिठ्ठा खेलाउने प्रारम्भ गरेका छन् ।अभियान डिजिटलले कम्पनि रजिष्टारको कार्यालयबाट टिभी एसेम्बलिङ्ग गरी विक्री वितरण गर्ने अनुमति लिए पनि वीरगंजमा प्रहरीको संरक्षणमा चिठ्ठा खेलाउदै आएका छन् ।

बितेको २६ महिनासम्म प्रत्येक महिनामा चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु सदस्यहरुलाई परे पनि प्रायःलाई नदिई हालसम्म अल्झाएर राखेको र केही नपरेको सदस्यहरुलाई अन्तिममा सान्तावना स्वरुप ३२ हजारको टिभी दिने भनिए पनि सो पनि नदिई वीरगंजको कार्यालयमा सञ्चालकहरुले करिब १५ दिन देखि ताला झुण्डयाई सम्पर्क बिहिन हुँदा एजेन्ट र सदस्यहरु आफुहरु ठगिएको पिडा खेप्न बाध्य भएका छन् ।

नेपालमा चिठा खेलाउन बन्देज रहे पनि स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा अभियानले ठगी गरेको करोडौं रकम दम्पच गरी सदस्यहरुलाई सान्तावना पुरस्कार ३२ हजारको टिभी दिने भनिए पनि केही सदस्यहरुलाई कामै नलाग्ने १३ हजार ५ सयको टिभी थमाउदै गाली खादै हैरान भएका छन् ।

अभियानमा सदस्य बनेकाहरुले सान्तावना पुरस्कार र अन्य पुरस्कार नपाएका सदस्यहरुले करिब १२ दिन देखि दिनहुँ कार्यालयमै पुगी सञ्चालकहरुलाई तथानाम गाली गर्दै आ–आफ्नो पुरस्कार माग्न थाले पछि वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाल, नगवा निवासी ऋषिकान्त गुप्ता र रानीघाट निवासी सुशिल सर्राफले विष्णु प्रसाद काफ्लेलाई धोखा दिए जस्तै सदस्यहरुलाई पनि धोखा दिने काम गरिरहेको एक पिडितले सम्पत्ति न्यूजलाई जानकारी दिए ।

कार्यालय बन्द हुँदा दिनहुँ सयकडौं सदस्यहरु हो–हल्ला गर्दै दुःखित भएर फर्किने गरेका छन् । तर पनि पर्साका एसपी ढुंगेलले अभियानका ठगहरुबाट करोडौं असुली लाजशर्म पच्चाएर ठग सञ्चालकहरुलाई संरक्षण गरिरहेको ती पिडितको कथन रहेको छ ।
अभियानकै नाममा एसी प्रोजेक्ट सञ्चालन

अभियान डिजिटलका मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लेलाई धोखा दिएर वीरगंजका सञ्चालकहरु दिपेश, ऋषिकान्त र सुशिलले करोडौं रकम दम्पच गरे पनि अभियानकै नाममा नयाँ स्किम (एसी प्रोजेक्ट) बितेको जेठ महिना देखि सुरु गरेका छन् ।

यस एसी प्रोजेक्टको नयाँ कार्यक्रम ६ हजार ९ सय ९९ जना सदस्यहरु बनाईएका छन् । प्रत्येक सदस्यहरु सँग प्रति महिना रु. २२५० को दरले मासिक रुपमा १ करोड ५७ लाख ४७ हजार ७५० असुली राखेका छन् । पुरानो स्किमको सदस्यहरुलाई ठगी गरी सञ्चालकहरु सम्पर्क विहिन भए पनि लुकिछिपी एजेन्टहरु मार्फत बितेको जेठ, असार र साउन महिना सम्ममा ४ करोड ७२ लाख ४३ हजार २५० रुपैया उठाई सकेको एक एजेन्टले नाम नछाप्ने शर्तमा बताए ।

ठग सञ्चालकहरुले अभियानको नाममा बुकहरु सदस्यहरुलाई वितरण गरे पनि सदस्यहरुबाट उठाईएको रकम अर्कै कम्पनि अल्ट्रा अभियान डिजिटल एलेक्ट्रा प्रा.लि. र डिजिटल ईलेक्ट्रोनिक्स सप्लायर्सको नाममा गरिमा विकास बैंकमा खाता खोली एजेन्टहरु मार्फत रकम जम्मा गराउने गरेको स्रोतले जनाएको छ । सो खाताहरुमा ठगहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफको संयुक्त हस्ताक्षर रहेको बताईएको छ ।

अभियानमा रहेका सदस्यहरुलाई मात्र युट्युबमा जोडी लुकिछिपी चिठ्ठा खोल्दै गरेका ठगहरु माथि पिडितहरुले लिखित रुपमा उजुरी दिन चाहे पनि केही एजेन्टहरुको दबावमा उजुरी दिन नसकेको जनाईएको छ । किनभने अभियानका सञ्चालकहरुले एजेन्टहरुलाई आफुले बनाएको सदस्यहरुलाई सम्झाई बुझाई गर्ने र सदस्यहरुले नमानी कसैले उजुरी दिएमा कुन एजेन्टले बनाएको सदस्य हो, सो एजेन्ट सँग क्षतिपूर्ती लिने शर्त अनुसार प्रायः एजेन्टहरु सँग सादा चेकमा सही गराई राखिएको स्रोतको भनाई रहेको छ ।

अभियानका ठगहरुको आन्तरिक कडा कानुन अनुसार सदस्य र एजेन्टहरु ठगिदै गएपनि उजुरी दिन नसकेको स्रोतले जनाएको छ । अभियानको काम चिठ्ठा खेलाई ठगी गर्ने र त्यसमा पनि नेपाल सरकारको लाखौं लाखको राजस्व हिनामिना गर्ने तर पनि एसपी कुमोद ढुंगेलको संरक्षणमा अझ पनि कैयौंले कहिलेसम्म ठगिने हुन ? पिडितहरुको लागि चिन्ताको विषय बनेको छ ।

चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ ।

त्यसपछि बाँकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख रहेको छ ।

प्रकाशित मिति:August 30, 2024