भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध मुद्दा

  Sampatti News 2024

September 9, 2024

काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पर्यटन क्षेत्र प्रवेशद्वार र अन्य भौतिक संरचना निर्माणमा अनियमितता गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव र उपप्रमुख तीर्थमाया खत्वेसहित १२ जना विरुद्ध आइतबार ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय एवं हिनामिना भएको रकम असुल उपरको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार योजना अनुगमन समिति संयोजक एवं गाउँपालिकाका उपप्रमुख खत्वे, प्रमुख प्रशासकीय अधिकृत यादव, इन्जिनियर खुर्सेद इक्राम, गाउँपालिकाका तत्कालीन लेखा प्रमुख सोनुकुमार सोनी, योजना अनुगमन समितिका सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरी, प्रवेशद्वार निर्माणका लागि गठित उपभोक्ता समिति अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्रीदेवीविरुद्ध मुद्दा दायर भएको हो ।

प्रकाशित मिति:September 9, 2024