‘पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने’

  Sampatti News 2024

September 9, 2024

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने जनाएको छ । वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका निगमले इथानोल मिश्रण गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने बताएको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा गरेको छलफल कार्यक्रममा निगमका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने नीतिगत व्यवस्था गरेको बताइन् ।

ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्त्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्‍याउँछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउँछʼ महर्जनले भनिन् ।

प्रकाशित मिति:September 9, 2024