मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारमा चार जना दोषी

  Sampatti News 2024

September 10, 2024

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वसचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिँदै बाँकी ४ जना कर्मचारी र सिएमसीलाई पनि दोषी ठहर गरेको हो ।

परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएकोमा विशेषले सिएमसीलाई दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुनमा पूर्वसचिव सहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो भराउन माग गरेको छ भने देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो भराउन माग गरेको छ । इप्टिसा र बेट्स ९बीइटीएस०लाई ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो ठहर गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष समेत रहेका खानेपानी मन्त्रालयका तत्कालिन सचिव डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, सहसचिव रुद्रसिंह तामाङ र मुकुन्दप्रसाद पौडेल लगायत १० जनालाई सफाई दिएको छ । सफाई पाउनेमा घनश्याम भट्टराई, चन्द्रबहादुर थापा, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल र भोजविक्रम थापा पनि रहेका छन् ।

प्रकाशित मिति:September 10, 2024