लगानी बोर्डको सिइओमा सुशील ज्ञवालीको पदबहाली

  Sampatti News 2024

September 14, 2024

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुक्रबार पदबहाली गरेका छन् । मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको सिफारिश समितिले विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले र सुशील ज्ञवालीको नाम मन्त्रिपरिषद्‍ समक्ष सिफारिश गरेको थियो । उपप्रधान तथा अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी तथा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनाल सदस्य रहेको सिफारिश समितिले छनौटमा परेका उम्मेद्‍वारहरूसँग अन्तर्वार्ता गरेको थियो ।

ज्ञवालीलाई आज मुख्यसचिव एकनारायण अर्यालले नियुक्तिपत्र प्रदान गरेपछि उनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको लगानी बोर्डको कार्यालयमा पुगेर पदबहाली गरेका थिए । उनलाई सहसचिव प्रद्युम्‍नप्रसाद उपाध्याय लगायतले स्वागत गरेका थिए ।

ज्ञवाली यसअघि पुनर्निमाण प्राधिकरणका सीईओ थिए । उनी सहरी योजनाविद् हुन् । उनले पुनर्निमाणका काम प्रभावकारी ढ‌ंगले सम्पन्न गरेका थिए । उनीसँग राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको अनुभव पनि छ ।

पदबहाली गर्दै उनले रणनीतिक र ठूला लगानीका परियोजना समयमै सम्पन्न गर्नका लागि राजनीतिक देखि संस्थागत तहसम्मको पहल आवश्यक हुने बताए ।

प्रकाशित मिति:September 14, 2024