भानु नपाको कार्यालय नयाँ शहर आयोजनाको भवनमा

  Sampatti News

September 17, 2020

तनहुँ । तनहुँको भानु नगरपालिकाको कार्यालय भानु नगरपालिका–१ भन्सारस्थित नयाँ शहर आयोजनाको भवनमा रहने भएको छ । आयोजनाको कार्यालय भवन तथा संरचना भानु नगरपालिकाले पनि प्रयोग गर्ने गरी विभिन्न शर्तहरुको अधिनमा रही नगरपालिकाको कार्यालयलाई उपलब्ध गराउने निर्णय भएको छ ।

शहरी विकास मन्त्रालयको भदौ २१ गतेको निर्णयानुसार आयोजनाको भवन नगरपालिकाको प्रयोगका लागि दिने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत ऋषिराम भट्टराईले जानकारी दिए । आयोजनाले सो भवन अधिकतम तीन वर्षका लागि नगरपालिकाले समेत प्रयोग गर्ने गरी उपलब्ध गराउनेछ । दुईतले भवनको भुइँतल्ला नगरपालिकाले प्रयोग गर्ने र पहिलो तल्ला नयाँ शहर आयोजनाले प्रयोग गर्ने तथा कार्यालय प्रयोग गर्दाको धारा, बिजुलीलगायत भवन सञ्चालनका अन्य खर्च नगरपालिकाले समेत ब्यहोर्नुपर्नेछ ।

नगरपालिकाको कार्य प्रवाहले आयोजनाको कार्य प्रभावित हुन नहुने र नगरपालिकालाई भवन उपलब्ध गराउँदा आयोजना कार्यालयका कर्मचारी आवास प्रयोजनाका लागि अन्यत्र बस्नुपर्ने परिस्थिति आउने भएकाले नगरपालिकाले आयोजनाको कर्मचारीको आवासको भाडा उपलब्ध गराउनुपर्ने शर्त राखिएको छ । भानु नगरपालिकाले केही समय अगाडी नगरपालिकाको कार्यालय भन्सारमा सार्ने निर्णय गरेको थियो तर केही असन्तुष्ट पक्षले भने नगरपालिकाको कार्यालय अन्यत्र सार्न नपाइने भन्दै आन्दोलन गरेका थिए । हाल भानु नगरपालिकाको कार्यालय वडा नं २ को फुस्रेटारमा सञ्चालित छ ।

प्रकाशित मिति:September 17, 2020