अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

  Sampatti News 2024

September 30, 2024

काठमाडौं । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

धानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई यही असोज १० गते सम्बोधन गरेका थिए।

महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भइ छलफल भयो।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। उनले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए।

उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत थिए।

प्रकाशित मिति:September 30, 2024