काठमाण्डौको गौशालामा रहेको धर्मशाला खाली गर्ने विषयमा विवाद चर्कियो

  Sampatti News 2024

October 17, 2024

काठमाडौँ । पशुपतिस्थित गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरपालिकाको टोली मारवाडी सेवा समिति नेपालको विरोध प्रदर्शनपछि बोर्ड नराखी फर्किएको छ । मंगलबार दिउँसो नगर प्रहरी दलबलसहित बोर्ड राख्न गएपछि मारवाडी समितिको टोली पनि प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएको थियो । सोही कारण नगर प्रहरीको टोली बोर्ड नराखी फर्किएको हो ।

कोष र काठमाण्डौ महानगरपालिकाको समन्वयमा धर्मशाला सञ्चालन गर्ने गरी सहमति पनि भएको छ । तर मारवाडी सेवा समितिले भने धर्मशाला भएको जग्गाको आफू मोहीयानी भएको दाबी गर्दै त्यो ठाउँ नछाड्ने अडान लिँदै आएको छ ।

यसैबीच हिजो धर्मशालामा अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाण्डौ महानगरपालिकाको टोलीको दुई वटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली हिजो दिउँसो गौशाला पुगेको थियो ।

डोजरले अनाधिकृत संरचना हटाउन खोज्दा पहिलैदेखि घेरा हालेर बसेको प्रहरीले दुई वटा डोजर नियन्त्रणमा लिएको महानगरले जनाएको छ । तर, महानगरले धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेला यसअघि व्यानर मात्र राखेको महानगरले हिजो बोर्ड राखेको हो । 

प्रकाशित मिति:October 17, 2024